उपनिर्वाचनः सफल पिताको पदचापमा तन्नेरी पुत्र

चैत्र ११,२०८०

-आस्था न्यूज

चैत ११, २०८० काठमाडौं ।
नेकपा एमालेले वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
 
इलामका दुइ निर्वाचन क्षेत्रमध्येको यो क्षेत्र सुहाङका पिता सुवास नेम्वाङले पटक पटक जितेको निर्वाचन क्षेत्र हो । गत वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि सुवासलाई यस क्षेत्रका मतदाताले जिताएर पठाएका थिए । तर पहिलो पटक झिनो मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कासँग सुवास विजयी भएका थिए ।
 
गत भदौमा सुवासको निधन भएपछि रिक्त रहेको त्यो क्षेत्रमा उनका कान्छा पुत्र सुहाङलाई उठाउने एमालेको निर्णय आजै सार्वजनिक भएको छ । 
 
नेपाली कांग्रेस र अरु पार्टीले उम्मेदवार घोषणा गरिसकेका छैनन् ।
 
यतिबेला एमाले र उसँग अलग भएको एकीकृत समाजवादी गठबन्धन सरकारमा साथै छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपालवीच सत्ता सहकार्य चलिरहेकाले इलाम क्षेत्र नम्बर २ को वामपन्थी मत एकैठाउँ पर्ने सम्भावना देखिन्छ । अरु विपक्षवीचको सहकार्यको सम्भावना पनि टरिसकेको छैन ।
 
राजनीतिको व्यवहारिक ज्ञान र अनुभव सँगाल्न बाँकी नै रहेका सुहाङलाई अनुभवी पुराना नेता कार्यकर्ताको चित्त बुझाएर उनीहरुको सहयोग लिने कुरा कम चुनौतिपूर्ण देखिँदैन । उनलाई आफ्ना पिताको योगदान र उनले आर्जन गरेको लोकप्रियता पनि राजनीतिमा उभिन निकै महत्वपूर्ण आधार बन्न सक्छ । अन्तिम निर्वाचन हारेर जीवनबाट विदा लिएका सुवासले राजनीतिमा पक्ष र विपक्ष दुवैथरीको विश्वास जितेका थिए । सुहाङले पिताको यो गुणबाट पनि लाभ लिन सक्ने देखिन्छ ।
 
अन्तिम निर्वाचन हारेका सुवास
संविधान सभा र संसद गरी स्वर्गीय सुवास नेम्वाङले संसद्को चार कार्यकाल नेतृत्व गरेका थिए । तर राष्ट्रपतिको निर्वाचनमा भने उनी सफल हुन सकेनन् । तत्कालको गणित एमालेको पक्षमा थिएन, एमालेका तर्फबाट उम्मेदवार बनेका सुवास राष्ट्रपतिमा जित्ने सम्भावना यसैपनि थिएन । तत्कालिन गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सुवासलाई पराजित गरेका थिए ।
 
सुवासले सभामुखको भूमिकामा २०६३ वैशाख देखि २०६३ र २०६३ माघदेखि २०६५ साल जेठसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।  
 
त्यसपछि उनी दुइ पटक संविधानसभाको अध्यक्षको भूमिकामा थिए र उनकै नेतृत्वको दोस्रो कार्यकालको संविधानसभाबाट संविधान निर्माण सम्पन्न भएर घोषणा पनि भएको थियो ।  
 
२०४८ यता उनी दुई पटक राष्ट्रिय सभामा निर्वाचित भए भने २०५६ यताका पाँचवटै चुनावमा सफल भए । 
 
सुवास नेम्वाङको राजनीतिक यात्रा विद्यार्थी युनियनबाट सुरु भएको थियो । उनी २०२९ सालमा अनेरास्ववियूबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्ववियू सभापति निर्वाचित भएका थिए । त्यो उनको सक्रिय राजनीतिको पहिलो सफलता थियो तर अन्तिम निर्वाचनमा भने उनी पराजित भएका थिए ।
 
उपनिर्वाचनको मैदानमा उत्रिन तयार भएका सुहाङले आफ्ना पिताको यो राजनीतिक पृष्ठभूमि कत्तिको सदुपयोग गर्न सक्छन् भन्ने जिज्ञासा इलाम २ का मतदातालाई हुनसक्छ । सतहमा नदेखिने असहयोगको राजनीतिको व्यवस्थापन र त्यसलाई चिर्ने रणनीति निर्वाचनको अर्को महत्वपूर्ण पक्ष हो भन्ने पक्ष सुहाङका लागि व्यवहारिक राजनीतिको नयाँ अध्याय हुने छ ।