फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायाङ्कन
-आस्था न्यूज
चैत १२, २०८० काठमाडौं ।
सर्लाहीमा छायाङ्कनरत फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायाङ्कन गरिएको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार एक दृश्यका लागि ‘क्राउड’ चाहिने भएपछि त्यहाँ ११ हजार जनता उपस्थित भएका थिए ।
खनालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खुशी साटेका छन् । ‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा ‘मेयर’को छायाङ्कनको लागि आउनु भएका ११ हजार स्थानीयको माया हो । नेपाली सिनेमा निर्माणमा एउटा महत्वपूर्ण क्षण बनाइदिनु हुने सम्पूर्ण उपस्थित माहानुभावहरूमा मेरो व्यक्तिगत तथा सम्पूर्ण टिमबाट हार्दिक आभार व्यक्त गर्दछु’, उनले लेखेका छन् ।
करिब एक महिनादेखि सर्लाहीको वाग्मती नगरपालिकामा फिल्मको छायाङ्कन गरिरहेका दीपेन्द्रले फिल्मका लागि स्थानीयको साथ राम्रो पाइरहेको बताए । फिल्म ‘मेयर’ सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाको जीवन संघर्षमा आधारित छ । फिल्मको केही दृश्य काठमाडौं र सिन्धुलीमा खिचिनेछन् ।
फिल्ममा खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरिरहेका छन् । उनको अपोजिटमा अभिनेत्री वर्षा राउत छिन् । पटकथा प्रडक्सनको ब्यानरमा बनिरहेको फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय छ । फिल्ममार्फत मेयर थापाकी छोरी अर्विशा थापाले अभिनयमा डेब्यू गर्दैछिन् ।
श्रष्टिमा खनाल र शर्मिला पाण्डे निर्माता रहेको फिल्ममा निर्देशक दिपेन्द्र कार्यकारी निर्माता छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा कृष्णबहादुर थापाको छायांकन छ ।