Trending :
 

इण्डो-नेपाल टी-२० क्रिकेट: सुदूरपश्चिम र मधेश प्रदेश विजयी

चैत्र १२,२०८०

-आस्था न्यूज

चैत १२, २०८० काठमाडौँ । 
भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा सोमबार सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएका छन् । 
 
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सेमीफाइनल सम्भावना बलियो बनाएको छ । 
 
बागमतीले दिएको १ सय रनको झिनो लक्ष्य सुदूरपश्चिमले १३ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । सुदूरपश्चिमलाई सहज जित दिलाउन दीपक बोहोराले नटआउट ३५ र खडक बोहोराले नटआउट २८ रन बनाए । दीपकले २२ बलमै ४ छक्का र १ चौका प्रहार गर्दै ३५ रन जोडेका थिए । खडकले १९ बलमा ३ चौका र एक चौका प्रहार गरे । यस्तै दीपक बोहोरा १२, अभिषेक पाल ६ र प्रकाश पाण्डे ४ रनमा आउट भए 
 
बागमतीका लागि कप्तान रामनरेश गिरीले ३ ओभरमा १६ रन खर्चिदै २ र विपिन आचार्यले २ ओभरमा १४ रन खर्चिदै एक विकेट लिए । 
 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमती ९९ रनमै अलआउट भयो । बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३६ रन बनाए । २४ बल खेलेका पाण्डेले २ छक्का र ४ चौका प्रहार गरे ।
 
अर्का ओपनर शुभ कंशाकार २ चौका प्रहार गर्दै १४ रनमा आउट भए । कप्तान गिरी १० रनमा आउट भए । बागमतीका अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । बागमतीलाई इशान र शुभ कंशाकरले राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि उनीहरुले ४४ रनको साझेदारी गरेका थिए । कंशाकर आउट भएलगत्तै टिमको स्कोर ५४ हुँदा इशान पाण्डे पनि आउट भएपछि बागमतीको पारी धरासायी बनेको थियो । 
 
बागमतीलाई सस्तैमा अलआउट गर्न सुदूरपश्चिमका भोजराज भट्ट र नरेन साउदले समान ३ विकेट लिए । भट्ट र साउद दुवैले ४ ओभरमा १८ रन खर्चिएका थिए । खडक बोहोरा र बसन्त खत्रीले समान एक विकेट लिए । खेलमा सुदूरपश्चिमका नरेश साउद प्लेयर अफ दी म्याच घोषित भए । 
 
यस्तै दोस्रो खेलमा मधेश प्रदेशले घरेलु टोली भरतपुर मेयर्स ११ लाई ९ विकेटको फराकिलो अन्तरले पराजित ग¥यो । भरतपुरले दिएको १२० रनको लक्ष्य मधेशले १०.५ ओभरमा मात्र १ विकेट गुमाउँदै पुरा गरेको हो । 
 
यो जितसंगै मधेशको सेमीफाइनल प्रवेश गर्ने सम्भावना कायमै छ । मधेशलाई सहज जित दिलाउन ओपनर साहिल पटेलले ५० रनको अर्धशतकीय पारी खेले । उनी दिपेश श्रेष्ठबाट आउट हुनुअघि २२ बलमा ४ छक्का र ५ चौका प्रहार गरेका थिए । रोहन विक ४० र राहुल मण्डल २५ रनमा नटआउट रहे । पहिलो विकेटका लागि साहिल पटेल र रोहन विकले ८३ रनको विस्फोटक साझेदारी गरेका थिए । 
 
भरतपुरका कप्तान दिपेश श्रेष्ठले ३.५ ओभरमा ३२ रन खर्चिदै एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भरतपुर निर्धारित ओभरमा ११९ रन बनाउँदै अलआउट भयो । भरतपुरका लागि जेनिश महतले २९, विकलकुमार गुप्ताले २७ र प्रतीक श्रेष्ठले १९ रन बनाए । 
 
भरतपुरलाई सस्तैमा अलआउट गर्न मधेशका भुलन सहनी एक्लैले ५ विकेट लिए । ४ ओभर बलिङ गरेका भुलनले ३१ रन खर्चिएका थिए । यस्तै विशाल पटेलले २, अभिषेक तिवारी, प्रदीप पासवान र अरनिको यादवले समान एक विकेट लिए । 
 
पाँच विकेट लिएका मधेश प्रदेशका भुलन सहनी प्लेयर अफ दी म्याच घोषित भए । 
 
प्रतियोगितामा भारतको क्षेत्रीय टोली पीएसआर ग्रुप लखनउ ३ खेलमा ३ जितका साथ ६ अंक बटुल्दै शीर्ष स्थानमा छ भने भारतकै तालतला इन्स्टिटाइट कोलकाता २ खेलमा २ जितका साथ ४ अंक बटुल्दै दोस्रो स्थानमा छ । ३ खेलमा २ जित र एक हारका साथ समान ४ अंक भए पनि नेट रनरेटको आधारमा पछि पर्दै सुदूरपश्चिम प्रदेश तेस्रो स्थानमा छ । 
 
प्रतियोगितामा पहिलो जित दर्ता गरेको मधेश प्रदेश ३ खेलमा १ जित र २ हार व्यहोर्दै २ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने घरेलु टोली भरतपुर ४ खेलमा एक जित र ३ हार व्यहोर्दै २ अंकका साथ पाचौं स्थानमा झरेको छ । बागमती प्रदेश लगातार ३ खेलमा पराजित हुँदै पुछारमा छ । प्रतियोगिताको शीर्ष चार टोली सेमीफाइनल खेल्ने छन् भने उपाधि भिडन्त चैत १७ गते हुनेछ ।