Trending :
 

कमला-ढल्केबर-बागमती सडक खण्ड स्तरोन्नतिका लागि ठेक्का आह्वान

चैत्र १२,२०८०

-आस्था न्यूज

चैत १२, २०८० काठमाडौँ । 
महेन्द्र राजमार्ग अन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्ड स्तरोन्नतिका लागि ठेक्का आह्वान भएको छ ।
 
सडक विभागले सोमबार बोलपत्र आह्वान गर्दै यस खण्डको विस्तारका लागि ठेक्का निकालेको हो ।
 
सडक विभागका महानिर्देशक सुशील बाबु ढकालका अनुसार यो खण्डको कुल ७७ किलोमिटर सडक बिस्तार र स्तरोन्नतिका लागि सोमबार ठेक्का आह्वान भएको हो ।
 
महेन्द्र राजमार्गलाई सरकारले ४ लेनमा विस्तार गरिरहेको छ । सोही अन्तर्गत महेन्द्र राजमार्गको चेनेज २३८ प्लस ०३० देखि ३१२ प्लस ७८५ सम्मका लागि ठेक्का आह्वान भएको हो । यो सडक विश्व बैंकको सहयोगमा स्तरोन्नती गरिँदैछ ।
 
विभागले कमला-थपलैयासम्मको सडक खण्डको स्तरोन्नतिको तयारी गरेको भए पनि बागमती-पथलैया खण्डको ठेक्काको मोडालिटी तय नभएका कारण केही समय पर सरेको महानिर्देशक ढकालले जानकारी दिए ।
 
महेन्द्र राजमार्गको स्तरोन्नतिका लागि अहिले विभिन्न खण्डमा काम भइरहेको छ । जसमध्ये बुटवल-चनौटा खण्डको ठेक्का व्यवस्थापनको काम अन्तिम चरणमा रहेको छ । बुटवल–नारायणगढ सडक खण्डको काम सुस्त गतिमा भइरहेको छ ।