तामाङ र अधिकारी एनएनआइपीए सर्वोत्कृष्ट खेलाडी घोषित

चैत्र १२,२०८०

-आस्था न्यूज

चैत १२, २०८० काठमाडौँ । 
बक्सिङका सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी १८ औं एनएनआइपीए स्पोर्ट्स अवार्ड २०७९ का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
 
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ काठमाडौंको शंखमूलमा सोमबार आयोजित समारोहमा सर्वोत्कृष्ट घोषित खेलाडीद्धयले सम्मानसहित नगद राशि एक÷एक लाख पाएका छन् । गत वर्ष तामाङले एसियन युथ बक्सिङमा रजत र अधिकारीले एसियन क्रसकन्ट्रीमा एकल र टिममा स्वर्ण पदक जितेका थिए । 
 
समारोहमा पौडीकी डुवाना लामा र राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई ५०/५० हजार राशिसहितको प्रतिभावान खेलाडी अवार्डबाट सम्मानित गरिएको छ ।
 
भारोतोलनका दुर्गामान तामाङले १५ हजार राशिको पारा एथलिट सम्मान र टेबलटेनिसका धर्ममान बज्राचार्यले ३५ हजारको गजराज आदर्श खेल व्यक्तित्व सम्मान पाए । यस्तै ३५ हजार राशिसहितको एनएनआइपीए खेलकुद पत्रकार अवार्ड खेलाडी डटकमका अजय फुयालले पाए । 
 
गत वर्ष गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलका खेलाडीहरुलाई संघले सम्मान गरेको छ । १०÷१० हजार नगद राशिसहितको उत्कृष्ट खेलाडी सम्मान पाउनेमा  आर्चरीका प्रसाद आचार्य, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलमा अनुसा मल्ल, बडिबिल्डिङमा असिमबाबु गुरुङ, बक्सिङमा सुष्मा तामाङ, चेसमा रुपेश जैसवाल छन् ।
 
यस्तै क्रिकेटमा रोहित पौडेल, साइक्लिङमा सुरुज रानामगर, फेन्सीमा शिक्षा नापित, फुटबलमा किरण चेम्जोङ, फुल कन्ट्रयाक्ट करातेमा सन्देश मानन्धर, गल्फमा सुवास तामाङ, जिम्न्यास्टिकमा राजु राई र ह्यान्डबलमा शान्तिकला राई छन् । यस्तै हक्कीतर्फ महेश धानी, आइटीएफ तेक्वान्दोमा रुविका खड्का, जुडोबाट देवकीमाया श्रेष्ठ, कबड्डीकी अनुजा कुलुङ राई, करातेमा विजय श्रेष्ठ, खोखोमा सरस्वती कठायत, लन टेनिस सलोनी तामाङ, प्याराग्लाइडिङबाट रिता श्रेष्ठ थापा, रग्बी निरज कार्की, सेपाकताक्रो उषा महर्जन, सुटिङ सुजन रानामगर, सफ्ट टेनिस युकेश योञ्जन, स्क्वासका अमृत थापामगर, पौडीकी डुवाना लामा, टेबल टेनिसमा स्यान्टु श्रेष्ठ, तेक्वान्दोमा काजल श्रेष्ठ छन् । 
 
यस्तै उत्कृष्ट हुनेमा ट्रयाथलनबाट सेरवी महर्जन, भलिबलमा रविन चन्द, भारोत्तोलनमा जुनमाया छन्तयाल, रेस्लिङमा सुरेश चुनारा, उसुमा सनम गुर्सी छन् ।