एसियाली पूर्वाधार लगानी बैंक सदस्य नेपालमा, विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन कुलमानको आग्रह

चैत्र १३,२०८०

-आस्था न्यूज

चैत १३, २०८० काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)लाई आग्रह गरेको छ । 
 
एआइआइबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायके नेतृत्वमा नेपाल भ्रमणमा रहेको बैंक सञ्चालक समितिका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गरे ।
 
नेपालको ऊर्जा क्षेत्रको रूपरेखा तथा लगानी आवश्यकता सम्बन्धी जानकारी प्रतिनिधिमण्डललाई गराउँदै कार्यकारी निर्देशक घिसिङले पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति, छिमेकी देशहरूसँगको विद्युत् व्यापार विस्तारका लागि उत्पादन, प्रसारण र वितरणतर्फका संरचना निर्माण गर्न  ठुलो लगानी आवश्यक रहेको बताए ।
 
‘ऊर्जा मन्त्रालयले अगाडि बढाएको सन् २०३५ सम्मको ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनका लागि  विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरूका लागि झन्डै ६० अर्ब अमेरिकी डलर ९निजी क्षेत्रलाईसहित० लगानी चाहिन्छ, यसका लागि एआइआइबीजस्ता बहुपक्षीय निकायहरूबाट सस्तो ब्याजदरमा सहुलियतपूर्ण ऋण आवश्यक छ’, कार्यकारी निर्देशक घिसिङले भने ।
 
घिसिङले भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चितता, ऊर्जा सङ्क्रमण तथा दक्षता, विद्युत् निर्यात वृद्धि, मौसमी विद्युत् उत्पादनको असन्तुलन न्यूनीकरणका लागि जलाशययुक्त आयोजनाहरूको निर्माण, वितरण तथा प्रसारण सञ्जाल विस्तार तथा सुधारलगायतका क्षेत्रमा हाल काम भइरहेको एआइआइबीको प्रतिनिधिमण्डललाई जानकारी गराए ।