रामेछापमा तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव

चैत्र १४,२०८०

-आस्था न्यूज

चैत १४, २०८० काठमाडौं ।
सेलिब्रेटी नेपालको आयोजनामा रामेछापको रामेछाप नगरपालिकामा आगामी वैशाख ६ गतेदेखि ८ गतेसम्म ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ ।
 
महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले प्रत्येक वर्ष फरक­-फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री र कल्चर फिल्महरु प्रदर्शन गरिने बताए । 
 
उनले नेपाली सिनेमा पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न सम्वाद कार्यक्रमहरु पनि गरिने बताए ।महोत्सवका कार्यक्रम संयोजक कमल एक्चै मगरले आफ्नो गृह जिल्लामा महोत्सव गर्न पाउँदा खुशी लागेको बताए ।
 
‘महोत्सवमा करिब २ दर्जन फिल्म देखाइनेछ । यससँगै फिल्मसँग सम्बन्धित व्यक्तिहरुसँग गाउँले दर्शकको अन्तरक्रिया पनि हुनेछ’, उनले भने । महोत्सवमा करिब ३ हजार दर्शकको सहभागिता हुने आयोजकले जनाएका छन् ।