कर्जन्हाका पूूर्वनगरप्रमुख पासवानसँगै पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

चैत्र १४,२०८०

-आस्था न्यूज

चैत १४, २०८० काठमाडौं ।
सिरहाको कर्जन्हा नगरपालिकामा प्रशासकीय भवन निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा तत्कालिन नगरप्रमुख, दुई प्रशासकीय अधिकृत, लेखापाल र निर्माण कम्पनी प्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 
 
सार्वजनिक खरिद ऐनको प्रावधान विपरीतका काम गरेकाले १ करोड ८ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको हो । 
 
आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्ने उजुरी परेको थियो । अनुसन्धानपछि  तत्कालीन नगरप्रमुख गंगा पासवान, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रवीनकुमार महतो र निर्माण कम्पनी महालक्ष्मी पाण्डे एण्ड कम्पनी ड्रागन जेभीविरुद्ध मुद्दा दायर भएको हो ।
 
उक्त पालिकाले निर्माण स्थलको व्यवस्था नभई बोलपत्र आह्वान गरेको मात्रै थिएन निर्माण कम्पनीलाई पेस्कीस्वरुप १ करोड ८ लाख रुपैयाँ निकासा दिएको थियो । स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनका लागि बोलपत्र आह्वानको निर्णय गर्दै सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गराएकाले रकम असुलउपर गर्दै सजायको मागदाबी आयोगले लिएको छ । 
 
आयोगका अनुसार निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवले कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि एडभान्स पेमेन्ट ग्यारेन्टी राखी मोबिलाइजेसन पेस्की भुक्तानी लिए पनि काम थालेका थिएनन् । एडभान्स पेमेन्ट ग्यारेन्टीको म्याद समाप्त भइसक्दा पनि नगरपालिकाले न म्याद थप गरेको थियो न त फिर्ता दाखिला गराएको थियो । सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गराएको भन्दै आयोगले आरोपपत्रमा सम्बद्ध जनप्रतिनिधि, कर्मचारी र निर्माण कम्पनीबाट बिगो असुलउपर हुनुपर्ने र सजाय गरिनुपर्ने मागदाबी लिएको छ ।