डा.आरजु राणाको भारतमा शैल्यक्रिया, केही समय अस्पतालमै रहने
-आस्था न्यूज
चैत १५, २०८० काठमाडौं ।
उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकी कांग्रेस नेतृ एवम सांसद डा.आरजु राणा देउवाको ‘हाइफर पाराथाइरोडिज्म’को शैल्यक्रिया गरिएको छ । डा.राणाका स्वकीय सचिव कमल रावलका अनुसार चिकित्सकहरुको सल्लाह अनुसार नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा चैत्र १४ गते सफलतापूर्वक शैल्यक्रिया भएको हो ।
विहीबार जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार डा.राणा दुई बर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरुको सल्लाह अनुसार नयाँ दिल्लीमा फलोअप उपचार गराउँदै आएकी हुन् । उनी चैत्र २ गते संघीय संसद सचिवालयलाई जानकारी गराइ भारत गएकी थिइन ।
‘हाल माननीय डा.आरजु राणा देउवाज्यूको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्श अनुसार अझै केसी समय अस्पतालमै उपचार गर्नुपर्ने भएको जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ ।
डा.राणालाई अत्यधिक मासिक रक्तश्रावको समस्या भएपछि एक बर्षअघि मेदान्त अस्पतालमा स्वास्थ्य जाँच र शल्यक्रिया म्याक्समा गरिएको थियो । म्याक्समा भर्ना गरिएपछि उनको पाठेघर निकालिएको हो ।
चिकित्सकीय भाषामा ‘हिस्टेरेक्टोमी फर हाइपरप्लेसिया अफ एण्डोमेट्रिएम’ भनिने शल्यक्रिया म्याक्स अस्पतालका अन्कोलोजिस्ट सर्जन डा.हरित चतुर्वेदीको नेतृत्वको समूहले गरेको थियो ।