Trending :
 

उत्तरपुस्तिका हराउनेलाई कारबाही गर्न माग

चैत्र १५,२०८०

-आस्था न्यूज

चैत १५, २०८० काठमाडौं ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थीका उत्तरपुस्तिका हराएको भन्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा प्रदर्शन गरेका छन्।
 
गत वैशाखमा विद्यार्थीले जनसंख्या विषयको परीक्षा दिए पनि एक सय ८३ विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो।
 
परीक्षा नियन्त्रण कार्यालयबाटै हराएका ती उत्तरपुस्तिका खोजी भइरहेको त्रिविको भनाइ छ।
 
त्रिविले केही क्याम्पसमा लिएका परीक्षाको उत्तरपुस्तिका हराएको भन्दै पुनस् परीक्षा सञ्चालन गर्न चितवनको रत्ननगरस्थित शहीद स्मृति बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र तोकेको थियो। परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा तालिका निकालेर पुनः परीक्षा दिन भनेको थियो।
 
विद्यार्थीका उत्तरपुस्तिका हराएकोबारे छानबिन गरी दोषीमाथि कारबाही सिफारिस भइसके पनि अहिलेसम्म कारबाही नभएको भन्दै नेविसंघले बिहीबार उपकुलपति कार्यालयमा प्रदर्शन गरेको हो।
 
उपकुलपतिले दोषीमाथि कारबाही प्रक्रिया अघि नबढाएकोले प्रदर्शन गरिएको नेविसंघ केन्द्रीय सदस्य विजय ढुंगानाले बताए।