देशभर ५९ हजार ६१ वटा अपरधका मुद्दा दर्ता, एक वर्षमा ७ हजार एक सय ९४ जनाले गरे आत्महत्या

चैत्र १५,२०८०

-आस्था न्यूज

चैत्र १५, २०८० काठमाडौं ।
पछिल्लो एक वर्षभित्र देशभर ५९ हजार ६१ वटा अपरधका मुद्दा दर्ता भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
 
बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालले देशभर ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको बताए । उक्त मुद्दा मध्ये सबैभन्दा धेरै अपराधका मुद्दा उपत्यकामा र कम कर्णाली प्रदेशमा दर्ता भएको जानकारी ढकालले दिए । 
 
उपत्यकामा १७ हजार ३ सय ९७ अर्थात् कूल अपराधको २९ .४५ प्रतिशत र कर्णालीमा सबैभन्दा कम १ हजार ९६५ वटा अपराधका  घटना भएका छन् । 
 
उपत्यकापछि मधेश,कोशी र लुम्बिनीमा क्रमश धेरै अपराधका मुद्दा दर्ता भएका छन् ।
 
यस्तै, अपराधका घटनामध्ये सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरमा १३ हजार २७७ वटा मुद्दा दर्ता भएको छ ।  दोस्रोमा सार्वजनिक हित स्वास्थ्य,सुरक्षा,सुविधा र नैतिकता विद्धको कसुर १० हजार ८६३,तेस्रोमा आत्महत्या ७ हजार १९४, चौथोमा लागू औषध ४ हजार २८४,चोरी ३ हजार २२५,जवर्रजस्ती करणी २ हजार ४६८,ज्यान मार्ने उद्योग १ हजार ४५, बहु विवाह ७२६ तथा सार्वजनिक शान्ति विरुद्धको कसुरमा ५३५ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
 
प्रहरीका अनुसार सैभन्दा धेरै कर्तव्य ज्यान सम्बन्धी घटना मधेश प्रदेशमा २३ .२७ प्रतिशत भएको छ भने सबैभन्दा कम उपत्यकामा ६.५ प्रतिशत दर्ता भएको छ । 
 
नेपालमा पछिल्लो समय आत्महत्याको घटना बढ्दै गैरहेको प्रहरी तथ्यांकले देखाएको छ । एक वर्षमा ७ हजार एक सय ९४ जनाले आत्महत्या गरेका छन् । 
 
पछिल्लो एक वर्षमा सबैभन्दा धेरै कोशी प्रदेशमा आत्महत्या हुँदा कर्णालीमा सबैभन्दा कम आत्महत्याका घटना भएको ढकालले बताए । 
 
‘कोशी प्रदेशमा आत्महत्याका सबैभन्दा धेरै २१ .२७ प्रतिशत घटना भएको छ भने सबभन्दा कम कर्णाली प्रदेशमा ४.२४ प्रतिशत रहेको देखिन्छ । अन्यमा मधेशमा पनि आत्महत्या गर्नेको संख्या धेरै छ, लुम्बिनी,बागमती,गण्डकी पनि छ । आत्महत्या संख्या सबैतिर बढिरहेको छ,’ प्रवक्ता ढकालले भने । 
 
आत्महत्या गर्ने मध्ये सबैभन्दा धेरै ८५ प्रतिशतले झुण्डिएको, १३.३४ प्रतिशतले विष सेवन गरेको र अन्यले आगो लगाएको,पानीमा हाम फालेर मृत्यु वरण गरेको विवरण प्रहरी तथ्यांकमा उल्लेख छन् ।  
 
एक वर्षमा महिला तथा बालबालिका सम्बन्धी २१ हजार १९७ वटा घटनाहरु भएका छन् । उक्त घटनामध्ये सबैभन्दा धेरै घरेलु हिंसाका १६ हजार ७४१ वटा घटेका छन् । प्रहरीले त्यसको आधा घटनाका निवेदनशरु फट्यौट गरेको जनाएको छ । देशभर २ हजार ४६८ वटा जर्वजस्ती करणीको मुद्दा दताए भएको छ । 
 
प्रहरी प्रवक्ता ढकालका अनुसार उक्त जवर्रजस्ती करणीको घटना आधा भन्दा धेरै नजिकका र चिनेजानेकाबाट भएका छन्  । 
 
‘जर्वजस्ती करणीका छिमेकी तथा चिनजानकै व्यक्तिहरुबाट ८० प्रतिशत घटना चिनजान र नजिककाबाट भएको पाइएको छ । १२ प्रतिशत घटना चिनजान नभएको व्यक्तिबाट भएको देखिन्छ । नजिकका नातेदार तथा चिनजानका व्यक्तिहरुबाटै जर्वजस्ति करणीका घटना बढी हुने गरेको हाम्रो अनुसन्धानबाट पाइएको छ ’ ढकालले भने ।