नेपालमा अन्तर्राष्ट्रिय लगानी आउने वातावरण बनेको अर्थमन्त्री पुनको भनाई

चैत्र १५,२०८०

-आस्था न्यूज

चैत्र १५, २०८० काठमाडौं ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनेको बताएका छन्। शिष्टाचार भेटका लागि बिहीबार सिंहदरबारस्थित मन्त्रालय आएकी नेपालका लागि फिनल्याण्डकी राजदूत रिना–रिक्का हेइक्कासँगको भेटमा मन्त्री पुनले नेपालमा लगानीको वातावरण बन्दै गएको बताए।
 
मन्त्री पुनले लगानी वातावरण बनाउन सरकारले एक दर्जन बढी विद्यमान कानूनमा संशोधन प्रक्रिया अघि बढाएको जानकारी दिए। लगानीको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको उनको थियो।
 
मन्त्री पुनले आगामी वैशाख १६ र १७ मा काठमाडौंमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी अन्तर्राष्ट्रिय लगानीकर्ता ल्याउन लागिपरेको भन्दै त्यसमा सहयोग गर्न राजदूत हेइक्कासँग आग्रह गरे।
 
नेपालमा जलविद्युत्, ऊर्जा, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री पुनले आग्रह गरे। फरक प्रसंगमा उनले १० वर्षअघि नेपालमा महिलाको राजनीतिक अधिकार प्राप्तिको अजेण्डा प्रमुख रहेको स्मरण गर्दै हाल नेतृत्व क्षमता विकास तथा आर्थिक सामाजिक पहुँच वृद्धिलाई प्राथमिकतामा राखिएको जनाए।
 
मन्त्री पुनले दौत्य सम्बन्धको अर्धवार्षिकी पार हुनै लाग्दा फिनल्याण्डले नेपालको शिक्षा, स्वास्थ्य र स्वच्छ खानेपानीका क्षेत्रमा गर्दै आएको निरन्तर सहयोगका लागि नेपाल र नेपालीका तर्फबाट धन्यवाद दिए।