कर्णालीको विद्युतीकरणका लागि रूख कटान प्रक्रिया सुरु

चैत्र १६,२०८०

-आस्था न्यूज

चैत १६, २०८० काठमाडौं ।
कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया सुरु भएको छ । रुख कटानका लागि छपान कार्य सकिएको आयोजनाले जनाएको छ । 
 
आयोजनाले विद्युत् प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार दुई सय ३६ रुख काट्ने अनुमति पाएसँगै निर्माणको बाटो खुलेको हो । विसं २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान अनुमति दिइएको थियो । सोही अनुमितअनुसार रुखमा छपान कार्य सकिएको आयोजना प्रमुख रवि चौधरीले बताए । विद्युत् विस्तारका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान गरिने भएको छ । 
 
“रुख छपान सकियो, अब कटानको फाइल प्रमाणित भएर आउने बित्तिकै रुख काटिने छन्”, उनले भने, “सरकारले रुख कटानका लागि दिइएको अनुमति र आयोजनाले गरेको रुख छपानको विवरण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पेस गरिएको छ ।”
 
बाँके राष्ट्रिय निकुञ्जमा दुई हजार नौ सय १६ र बर्दिया राष्ट्रिय निकुञ्जका तीन हजार तीन सय २० रुखमा छपान गरिएको छ । सरकारले बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने छ हजार दुई सय ३६ रुख कटान अनुमति दिइएको हो । अहिले ती रुखमा छपान गरेर विभागमा विवरण पेस गरिएको छ । विवरण प्रमाणित भएर आएलगत्तै अबको केही दिनमा रुख कटानको काम हुने उनको भनाइ छ । रासस