बुढीगण्डकी आयोजना प्रभावितलाई ४३ अर्ब मुआब्जा वितरण

चैत्र १६,२०८०

-आस्था न्यूज

चैत १६, २०८० काठमाडौं ।
१२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई ४३ अर्ब रुपैयाँ मुआब्जा बाँडिसकिएको छ ।
 
 डुबान क्षेत्रमा पर्ने जग्गा र संरचनाको मुआब्जाबापत करिब ४३ अर्ब मुआब्जा वितरण गरिसकिएको बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जगतकुमार श्रेष्ठले बताए । झन्डै ९५ प्रतिशत मुआब्जा बाँडिसकिएको कार्यालयले जनाएको छ ।
 
‘केही छुटेका तथा विभिन्न समस्याले रकम नपाएकालाई मात्र मुआब्जा वितरण बाँकी छ,’ श्रेष्ठले भने, ‘छिट्टै बाँकीलाई पनि मुआब्जा वितरण गर्ने तयारी भइरहेको छ ।’
 
गोरखा र धादिङको सीमा क्षेत्रमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाका कारण धादिङका १३ र गोरखाका १४ गरी साविक २७ गाविसका बासिन्दा प्रभावित हुनेछन् । आयोजनाले ३ हजार ५ सय ६० परिवार पूर्ण रूपमा विस्थापित हुनेछन् । 
 
बुढीगण्डकीको बाँधको उचाइ २६३ मिटर हुनेछ । गोरखाको गण्डकी गाउँपालिकादेखि आरुघाट गाउँपालिकासम्म डुबानमा पर्ने २ हजार ५ सय ६६ हेक्टर खेतीयोग्य जमिनमा ६३ वर्ग किलोमिटर फराकिलो जलाशय बन्नेछ ।