आइपीएलमा लखनऊ जायन्ट्सको पहिलो जित

चैत्र १८,२०८०

-आस्था न्यूज

चैत १८, २०८० काठमाडौं ।
लखनउ सुपर जायन्ट्सले पञ्जाव किंग्सलाई २१ रनले पराजित गरेको छ। शनिबार  राती भएको खेलमा लखनउले प्रस्तुत गरेको २ सय रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७८ रन मात्र बनाउन सक्यो।
 
यो जितमा डेब्यू गरेका मयंक यादवको प्रदर्शन उत्कृष्ट रह्यो। आईपीएलको डेब्यू खेलमा उनले  उत्कृष्ट प्रदर्शन गरेपछि  जित हात पारेको हो। ओनपनरद्वय कप्तान शिखर धवन र जोनी बेयर्स्टोले पञ्जावलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
 
दुवैले पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीलाई जीततर्फ अग्रसर गराएका थिए। तर, प्लेयर अफ द म्याच घोषित मयंक यादवले घातक बलिङ गर्दै पञ्जावलाई जितबाट रोक्न सफल भए।
 
१५५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा बलिङ गर्दै यादवले पञ्जावका महत्त्वपूर्ण तीन विकेट हात पारे। ४ ओभरमा उनले मात्र २७ रन खर्चेका थिए।
 
१२ औँ ओभर ४२ रन बनाएका जोनी बेयर्स्टोलाई आफ्नो शिकार बनाएका उनले प्रभसिमरन सिंह र जितेश शर्मालाई आउट गरे। त्यसपछि पञ्जाबले खेलमा लय नै समाउन सकेन। 
 
कप्तान धवनले ५० बलमा ७० तथा लियाम लिभिङस्टोनले १७ बलमा २८ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। लखनउका लागि मोहसिन खानले पनि २ विकेट लिए।
 
यसअघि पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९९ रन बनाएको थियो। लखनउका लागि ओपनर क्विन्टन डी ककले सर्वाधिक ५४ रन बनाए। उनले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
 
त्यस्तै, क्रुनाल पाण्ड्याले २२ बलमा ४३ रन तथा कप्तान निकोलस पुरनले २१ बलमा ४२ रनको विस्फोट इनिङ्स खेले। पञ्जावका लागि साम करनले ३ तथा अर्शदीप सिंहले २ विकेट हात पारे।
 
यो सिजन लखनउको प्रतियोगितामा पहिलो जीत हो भने ३ खेलमा पञ्जावको यो दोस्रो हार हो।