१४० मेगावाट तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’
-आस्था न्यूज
चैत १८, २०८० काठमाडौं ।
तनहुँ को ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५ को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलासययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर लि सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रुपमा स्वीच दबाएर बिस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो।
आयोजनाको प्याकेज-२ अन्तर्गत जलासको मुहान ९इनटेक०बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ छ। मुख्य सुरुङको ब्यास ७.४ मिटर रहने छ। अब मुख्य सुरुङको कंक्रिट लाइनिङ गरिने छ। मुख्य सुरुङबाट गएको पानीलाई २१३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादन गरिनेछ।
सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको र मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गरे।
‘कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दूधकोशी, नलगाढ, बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउँछ, आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ,’ उनले भने।
सुख्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेबार भएर लाग्नु पर्ने बताए।