नेपाल आमा पार्टी, नयाँ पार्टी नेपाल र नेपाल सुशासन पार्टीबीच एकीकरण
-आस्था न्यूज
चैत १८, २०८० काठमाडौं ।
तीन दलबीच एकीकरणको घोषणा भएको छ।
नेपाल आमा पार्टी, नयाँ पार्टी नेपाल र नेपाल सुशासन पार्टीबीच एकीकरणको आइतबार घोषणा भएको हो।
यी तीन दल मिलेर नयाँ पार्टी गठन गरेका छन्। पार्टीको नाम-राष्ट्रिय मातृभूमि पार्टी छ।
काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले एकीकरणको घोषणा गरेका हुन्। उनीहरूले गत फागुन २३ गते नै निर्वाचन आयोगबाट नयाँ दल (राष्ट्रिय मातृभूमि पार्टी) दर्ताको प्रमाण पत्र लिइसकेको बताएका छन्।
जनतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा सुशासन र समावेशी सिद्धान्तका आधारमा समृद्ध, समतामूलक र न्यायपूर्ण समाजको निर्माण गरी सुविधाराज्य स्थापना गर्ने पार्टीको दूरदृष्टि रहेको घोषणा कार्यक्रममा जानकारी गराइएको थियो।
पार्टीको लक्ष्य जनकल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्ने, राष्ट्रिय सद्भाव र एकता अक्षुण्ण राख्ने, विद्यमान आर्थिक एवं अन्य असमानताको अन्त्य गर्न सबै नागरिकमा समान अवसर र पहुँच पुयाई समवादमा पुग्ने रहेको छ।
राष्ट्रिय मातृभूमि पार्टी नेपालले शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री उपयुक्त हुने धारणा अगाडि सारेको छ। पार्टीको चुनाव चिन्ह तीन तारासहित काखमा बच्चा लिएकी आमा रहेको छ। यो पार्टीको अध्यक्ष रामशरण पाण्डे छन्। उनले देशमा विकृति र भ्रष्टाचार बढेको बताए।