एकीकृत समाजवादीले वाग्मतीका मुख्यमन्त्री जम्कट्टेटलाई विश्वासको मत नदिने
-आस्था न्यूज
चैत १८, २०८० काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) ले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेटलाई यथास्थितिमा विश्वासको मत नदिने भएको छ ।आइतबार बसेको वाग्मती प्रदेशसभा एकीकृत समाजवादी संसदीय दलको बैठकले जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।
दलका नेता कृष्ण शर्मा खनालले सबै प्रदेशमा भागबन्डा नटुंगिएको र वाग्मती प्रदेश सरकारमा पनि समान सहभागिता हुने सुनिश्चितता नभइसकेको भन्दै विश्वासको मत नदिने पक्षमा आफूहरु उभिन बाध्य भएको बताए ।
मुख्यमन्त्री जम्कट्टेलले सोमबार १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । उनलाई बहुमतका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१, नेकपा (एस) ७, हाम्रो नेपाली पार्टीको २ मत छ । एकीकृत समाजवादीले मत नदिए जम्कट्टेललाई विश्वास मत पुग्दैन ।
कांग्रेस, राप्रपा, नेमकिपाले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।