चीनको भ्रमण सकेर उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्किँदै
-आस्था न्यूज
चैत १९, २०८० काठमाडौं ।
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै छन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी)का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए ।
भेटवार्तामा उनीहरूबिच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल तीव्र आर्थिक विकासको यात्रामा अघि बढिरहेको जानकारी दिँदै त्यसका लागि छिमेकी मुलुक चीनको सहयोग महत्त्वपूर्ण हुने बताएका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गरेका थिए । सो भेटवार्तामा उनीहरूबिच नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० र चिनियाँ कम्युनिस्ट पार्टीबिचको सम्बन्धलाई प्रगाढ बनाउनेबारेमा छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठ माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष एवं विदेश विभाग प्रमुखसमेत हुन् ।
बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गरेका थिए । सो क्रममा उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गरेका थिए । सोही दौरान उनले चीनकै दक्षिण पश्चिमी सहर छोनछिन नगरपालिकाको अवलोकन भ्रमण गरेका थिए ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन कमिटीका सचिव युयान जाइजुनबिच प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता भएको थियो । उक्त भेटमा उपप्रधामन्त्री श्रेष्ठले नेपाल र चीन आर्थिक समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताएका थिए ।
यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले चीनको सिजाङ्ग स्वायत्त क्षेत्रका पार्टी सचिव वाङ झुङहेङसँग भेट गरी नेपाल–चीन सीमा क्षेत्रका नागरिकले व्यहोर्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका थिए । उनले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरी आर्थिक कूटनीतिमा ध्यान दिन निर्देशन दिएका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकनसमेत गरेको थियो । भ्रमणका क्रममा सिचुवान प्रान्तको छेन्दु आइपुग्नुभएका उनले सिचुवान जनसरकारका गभर्नर हुवाङ सियाङसँग पनि भेट गरी नेपालमा चिनियाँ लगानीका लागि आग्रह गरेका थिए ।