ब्राइटनविरुद्ध २-१ को जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा

चैत्र १९,२०८०

-आस्था न्यूज

चैत १९, २०८० काठमाडौं ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा आइतवार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । आइतवार भएको अर्को खेलमा ब्राईटनलाई हराएर लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।
 
लिभरपुलले ब्राईटनलाई २–१ को अन्तरले हराएको हो । ब्राईटनमाथि पुनरागमन जित दर्ता गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । ड्यानी वेलबेकले खेलको दोस्रो मिनेटमा नै ब्राईटनलाई अग्रता दिलाएका थिए । तर २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई जित दिलाए ।
 
योसँगै शीर्ष स्थानमा रहेको लिभरपुलको २९ खेलमा ६७ अंक भएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको २९ खेलमा ६५ अङ्क छ । म्यानचेस्टर सिटी भने २९ खेलमा ६५ अङ्क सहित तेस्रो स्थानमा छ ।
 
यसअघि ब्रेन्टफोर्ड र म्यानचेस्टर युनाटेडले एक एक गोलको बराबरी खेलेका थिए । म्यानचेस्टर युनाटेड २९ खेलमा ४८ अङ्क सहित छैटौं स्थानमा छ ।