चीन भ्रमण गर्न चाहने नेपालीलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्षसँग आग्रह
-आस्था न्यूज
चैत १९, २०८० काठमाडौं ।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । यो आग्रहमा चिनियाँ पक्षबाट सकारात्मक प्रतिक्रिया आएको मन्त्री श्रेष्ठले जानकारी दिए ।
चीनको सात दिने भ्रमण पूरा गरी सोमबार बिहान काठमाडौं फर्किएका मन्त्री श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु । यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ ।’
चिनियाँ विदेशमन्त्रीको औपचारिक निमन्त्रणमा मन्त्री श्रेष्ठ चैत ११ गते चीन भ्रमणमा गएका थिए । भ्रमणको क्रममा उच्चस्तरीय भेटघाटसमेत गरेका थिए ।
आर्थिक कूटनीतिलाई केन्द्रमा राखेर आफूले चिनियाँ पक्षसँग छलफल गरेको जानकारी उनले गराए ।