सांसद पौडेलको प्रश्न? रुसी सेनामा गएका नेपालीबारे सरकार किन बेखबर ?
-आस्था न्यूज
चैत १९, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रुसी सेनामा रहेका नेपालीहरुको उद्दारमा सरकारले पहल नगरेको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोलेका कांग्रेस सांसद पौडेलले रुसी सेनामा कति संख्यामा नेपाली छन् भन्ने समेत सरकारलाई थाहा नभएको बताए ।
‘नेपालीहरु रुसी सेनामा छन् भन्ने सरकारलाई थाहा छ । तर कति संख्यामा छन् ? उनको अवस्था के छ रु आफन्तहरु कसरी बासिरहेका छन् भन्नेमा सरकार बेखबर छ’ उनले भने, ‘बेखबर मात्र होइन, सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन ।’
पीडित परिवार र उनीहरुसँग काम गरको स्वयंसेवीहरुले उपलब्ध गराएको तथ्यांक भन्दै उनले रुसी सेनामा ७०० भन्दा बढी नेपाली रहेको सुनाए । उनका अनुसार ४० जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी बेपत्ता छन् । ११७ जना घाइते भएका छन् ।
तर अहिलेका परराष्ट्रमन्त्रीले अघिल्लो परराष्ट्रमन्त्रीले मिलाएको समयमा रुसी समकक्षीसँग वार्ता गर्ने बाहेक केही नगरेको उनको आरोप छ ।
नेपालीहरुको उद्दारका लागि सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्दै कांग्रेस संसद पौडेलले भने, ‘सरकारले गर्न सक्दैन भने मानवअधिकारवादी संस्था, रेडक्रस, राष्ट्रसंघलाई आग्रह गर्न सक्छ । नेपाली ल्याउन सरकारको जुन ढंगको पहल हुनुपर्ने हो, त्यो भएको छैन ।’
सरकारले पीडामाथि पीडा थप्ने काम मात्र गरेको उनको आरोप छ । रुसमा मृत्यु भएकाहरुको पहिचानका लागि रुसले आफन्तको डीएनए परीक्षण गर्न आग्रह गरेपछि सरकारले आफन्तलाई काठमाडौं बोलाउँदा समेत अपराधीलाई जस्तो व्यवहार गरेको उनको दाबी छ ।