नारायणगढ-बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग
-आस्था न्यूज
चैत १९, २०८० काठमाडौं ।
नेकपा (एमाले) की सांसद सरिता भुसालले नारायणगढ-बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग गरेकी छन् । सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भुसालले नारायणगढ–बुटवल सडकखण्ड निर्माणका लागि दुई पटक म्याद थप गरेपनि हालसम्म आयोजना सम्पन्न हुन नसकेको बताइन् ।
उनले सडक निर्माण सम्पन्न नहुँदा यात्रु तथा स्थानीयले धेरै दुःख झेल्नुपरेको भन्दै वर्षायाम अघि नै निर्माण सम्पन्न गर्नका लागि सरकारको ध्यानाकर्षण गराइन् । उनले पटक-पटक समय थप गर्दा पनि निर्माण सम्पन्न हुन नसक्नुको कारण पहिचान गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्- ‘वर्षायाम शुरु हुनु अगावै यात्रुहरुले थप समस्या भोग्नु नपरोस् भन्ने कुरामा सरकारको ध्यानाकृष्ट होस् । पटक-पटक समयावधि थप गरिँदा पनि योजना सम्पन्न हुन नसक्नुका कारण पहिचान गरी कम्पनीलाई अझ गतिशील रुपमा कार्य अगाडी बढाउन सरकारले समय समयमा निगरानी गरी यस समस्याबाट छिट्टै मुक्त गरोस् । दुर्घटना दिनप्रतिदिन बढ्दैछ । लामो दुरीमा चल्ने सवारी साधनमा एकभन्दा बढी चालकको व्यवस्था गर्ने गर्नुपर्यो । सडकको स्तरोन्नति गर्नुपर्यो ।’
सांसद भुसालले सवारी दुर्घटना न्युनीकरण गर्नका लागि लामो दूरीको सवारी साधनमा दुईजना चालकको व्यवस्था गर्नुपर्ने र सडकको स्तरोन्नति गर्नुपर्ने पनि बताइन् ।