टी-२० सिरिजः अन्तिम खेलमा नेपाल तीन रनले विजयी

चैत्र १९,२०८०

-आस्था न्यूज

चैत १९, २०८०  काठमाडौं । 
नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सबीचको टी २० सिरिजको फाइनल खेलमा नेपाल ३ रनले विजयी भएको छ। पहिलो दुई खेल हारेको नेपालले अन्तिम तथा फाइनल खेल ३ रनले जितेको हो। 
 
पहिला ब्याटिङ गर्दै नेपालले दिएको २१४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रमममा आयरल्यान्ड निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रनमा समेटियो। 
 
नेपालका लागि विपीन खत्रीले तीन विकेट लिए। यस्तै कमलसिंह ऐरी, नारायण जोशी र रासिद खानले एकरएक विकेट लिए। एक विकेट भने रनआउटबाट प्राप्त भएको हो। एक विकेट लिए पनि बलिङमा रासिद खान महँगा सावित भए। चार ओभर बलिङ गरेका उनले ५५ रन खर्चिए। यस्तै खत्रीले चार ओभरमा मात्र २३ रन खर्चिएर तीन विकेट लिएका थिए। 
 
आयरल्यान्डका लागि ग्रेथ डेलनीले सर्वाधिक ६८ रन बनाउँदा मोर्गन टोपिङले ६० रन बनाए। फियोन हान्डले २२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 
 
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रनको योगफल तयार पारेको थियो। नेपालको स्कोर ठूलो बनाउने क्रममा आरिफ शेखले ९३ रनको नटआउट पारी खेले। जम्मा ४८ बलको सामना गरेका उनले ७ चौका र ६ छक्का हिर्काए। 
 
यस्तै रासिद खानले २४ रन बनाउँदा कमलसिंह ऐरीले नटआउट १९ रन जोडे। ओपनर लोकेश बम ८ र देव खनाल ६ रनमै आउट भएका थिए। यस्तै कप्तान विनोद भण्डारीले ११ रन बनाए भने बसिर अहमदले १९ बनाउँदा नारायण जोशी एक रनमै रनआउट भएका थिए। 
 
आयरल्यान्ड उल्भ्सका लागि फियोन हान्डले २, लियम म्याकार्थी, म्याथ्यू फोस्टर, ग्रेथ डेलनी र गेभिन होयले एकरएक विकेट लिए। यसअघि भएका दुई खेलमा नेपाल पहिलोमा २१ र दोस्रोमा ४० रनले पराजित भएको थियो।
 
प्रतियोगिताको सिरिज भने आयरल्यान्डले जितेको छ। पहिला दुई खेल जित्दै सिरिज आफ्नो हातमा पारेको हो। तर तीनवटै खेल जितेर क्लीन स्वीप गर्ने योजना भने सफल हुन सकेन। नेपालले पहिलो खेल २१ रन र दोस्रो खेल ४० रनले हारेको थियो। तर यी तीनवटै खेलमा लक्ष्य २ सय भन्दा माथि नै रहे।