सुदूरपश्चिम र वाग्मतीमा एकीकृत समाजवादीलाई आलोपालो मुख्यमन्त्री दिने गठबन्धनमा सहमति
-आस्था न्यूज
चैत १९, २०८० काठमाडौं ।
सत्ता गठबन्धन दलले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति गरेका छन् ।
वाग्मती प्रदेशमा पनि आलोपालाको दोस्रो चरणमा समाजवादीको मुख्यमन्त्री हुने भएका छन् । हाल वाग्मतीमा माओवादीले सरकारको नेतृत्व गरिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकले एकीकृत समाजवादीलाई सुदूरपश्चिम र वाग्मतीको नेतृत्व दिने सहमति भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १८, माओवादी, ११, एमाले १०, नागरिक उन्मुक्ति ७, एकीकृत समाजवादी ४ र राप्रपा र स्वतन्त्र १, १ सांसद छन् ।
यसअघि सत्ता गठबन्धनले सुदूरमा उन्मुक्तिलाई मुख्यमन्त्री दिने तयारी गरेको थियो । उन्मुक्तिमा चरम विवाद भएका कारण बहुमत पुर्याउने दाबीसहित एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने निर्णय भएको एक नेताले बताए । गठबन्धन दलका २५ र एक स्वतन्त्रलाई सरकारमा सहभागी गराई बहुमत पुर्याउने कसरत भएको छ । हाल कांग्रेसका कलमबहादुर शाहले सुदूरपश्चिम सरकारको नेतृत्व गरेका छन् ।
त्यस्तै वाग्मतीमा माओवादीका मुख्यमन्त्री शालिकराम जमकट्टेलले सोमबार विश्वासको मत लिँदैछन् । एकीकृत समाजवादीलाई मुख्यमन्त्री र हाम्रो नेपाली पार्टी(हानेपा)लाई मन्त्री दिएर बहुमत पुर्याउने कसरत छ । हानेपाबाट शैलेन्द्र बज्राचार्य मन्त्री बनिसकेका छन् ।
११० सदस्यीय वाग्मती प्रदेशसभामा सरकारका लागि बहमुत पुर्याउन ५६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ । सरकार टिकाउन १ मत आवश्यक छ । जसका कारण हानेपाको समर्थन सरकारलाई आवश्यक परेको हो । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् । राप्रपा र नेमकिपा सरकारमा सहभागी नहुने प्रस्ट पारिसकेका छन् ।