आईपिएलः मुम्मबईमाथि राजस्थान रोयल्सको शानदार जित

चैत्र २०,२०८०

-आस्था न्यूज

चैत २०, २०८० काठमाडौं ।
राजस्थान रोयल्सका बलरसामू टिक्न नसक्दा मुम्बई इन्डियनले तेस्रो खेलमासमेत खाता खोल्न सकेन। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्गर्तत सोमबार राति भएको खेलमा राजस्थानलाई १२६ रनको सामान्य लक्ष्य दिएको मुम्बई ६ विकेटले पराजित भएको छ।
 
वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १२५ रन मात्र बनाएको थियो।
 
मुम्बईको इनिङलाई धराप पार्न राजस्थानका लागि ट्रेन्ड बोल्ड र युजवेन्द्र चहाले तीन तीन विकेट हात पारे। ट्रेन्ड बोल्डले रोहित शर्मा, नमन धीर र डेवाल्स ब्रेविसको विकेट लिएका थिए। उनीहरू खाता खोल्न नपाउँदै शून्यमै आउट भए। नान्द्रे बर्गरले २ विकेट लिँदा आवेश खानको नाममा १ विकेट रह्यो।
 
मुम्बईका लागि कप्तान हार्दिक पाण्डेले सर्वाधिक ३४ रन बनाए। २१ बल खेलेका उनले ६ चौका प्रहार गरे। तिलक बर्मा ३२, टिम डेविड १७ र इशान किशानले १६ रन बनाउँदा जसप्रीत बुमराह ८ र आकाश मधवाल ४ रनमा अविजत रहे।