म्याग्दीमा म्याद नाघेका खाद्य सामग्री जफत
-आस्था न्यूज
चैत २०, २०८० काठमाडौं ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ ।
सोमबार अन्नपूर्ण-६ घार र खिवाङ क्षेत्रका पसलहरूमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका सामान बिक्री भएको पाइएपछि ती सामान जफत गरिएको हो ।
गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवाकुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग वाणिज्य सङ्घ अन्नपूर्ण इकाईका प्रतिनिधि, पत्रकारलगायत संलग्न टोलीले घार र खिवाङ क्षेत्रका पसलको अनुगमन गरेको थियो ।
अनुगमन टोलीले उपभोगको म्याद नाघेका खाने तेल, मैदा, सुजी, मसला, चियापत्ती, चाउचाउ, बिस्कुट, कोक, फेन्टा, स्प्राइट, बियरलगायत ७५ हजारभन्दा बढीका खाद्य र पेय पदार्थ जफत गरेको गाउँपालिकाकी उपाध्यक्ष पुनले बताइन् ।