कर्णालीमा मुख्यमन्त्री एमालेले पाउने
-आस्था न्यूज
चैत २०, २०८० काठमाडौं ।
केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रदेश सरकारहरुको नेतृत्वमा फेरबदलको क्रममा कर्णाली प्रदेशमा पनि मुख्यमन्त्री नेकपा एमालेले पाउने भएको छ।
सोमबारको सत्ता गठबन्धनको बैठकले कर्णालीमा मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए।
सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार पहिलो चरणमा एमाले दिने निर्णय बमोजिम परिपत्रसमेत पठाइसकिएको छ। यता प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली प्रदेश सरकार निर्माणमा एमाले उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएका छन्।
उनले केन्द्रीय सत्तागठबन्धनको भद्र सहमति अनुसार नै कर्णालीमा एमालेका उम्मेदवारलाई समर्थन गर्न नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिलाई निर्देशन दिएका हुन्।
अब कर्णालीमा एमालेका वरिष्ठ नेता यामलाल कँडेल मुख्यमन्त्रीका प्रमुख दाबेदार छन्। एमाले सम्बद्ध नेताहरुले भने केन्द्रीय गठबन्धन सहमतिअनुसार नै कर्णाली प्रदेशमा सरकार बन्ने प्रक्रिया अघि बढ्ने विश्वास लिएका छन्।