विद्यार्थी अभाव भएपछि काभ्रे चौंरीदेउरालीका २५ सामुदायिक विद्यालय बन्द
-आस्था न्यूज
चैत २०, २०८० काठमाडौं ।
काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन्। पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएका हुन्भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच विद्यालय बन्द भएका हुन्।
विद्यार्थीको अभावमा उक्त गाउँपालिका-७ स्थित विसं २०३२ मा स्थापित स्वस्थानी माध्यमिक विद्यालय २०८० साल साउन महिनाबाट बन्द भयो। गाउँपालिका कार्यालयले शिक्षक र विद्यार्थीको अनुपात नपुगेको भन्दै नजिकको सृजनशील माविमा विद्यार्थीलाई अध्ययन गराउने जनाउँदै स्वस्थानी मावि बन्द गर्ने निर्णय गरेको थियो। सो विद्यालयमा चालु शैक्षिक सत्रका लागि ३५ जना विद्यार्थी भर्ना भएका थिए।
‘विद्यार्थी नहुँदा शिक्षक र विद्यार्थीको अनुपात नपुगेपछि विद्यालय बन्द गर्ने निर्णय गरियो,’ गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले भनिन्।
उक्त गाउँपालिकाको स्वस्थानी माविझैं अन्य प्राथमिक र निम्न माध्यमिक गरी २४ विद्यालय बन्द भइसकेका छन्। गाउँपालिका कार्यालयले नै विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात नपुगेपछि निर्णय गरी विद्यालय बन्द (स्थगन) गराइएको चौलागाईले बताए। उनका अनुसार नौवटा वडा अवस्थित गाउँपालिकाका १२ मावि तहका विद्यालयमध्ये हाल दश सञ्चालनमा छन्। गाउँपालिकाको मावि तहका स्वस्थानी र धुसेनी ग्राम विकास बन्द गरिएको हो।
गाउँपालिकाका शिक्षा शाखाप्रमुख कालीप्रसाद पाण्डेका अनुसार गाउँपालिकामा प्राथमिक तहका १५ विद्यालय बन्द गरिएका छन्। यस्तै, आधारभूत तहका आठवटा विद्यालय बन्द छन्। विद्यार्थीको संख्या बर्सेनि घटेपछि गाउँपालिकाले केही विद्यालयको तह घटुवासमेत गरेको छ। आगामी शैक्षिकसत्रबाट गाउँपालिकाको दर्जनौँ विद्यालय बन्द हुने अवस्थामा पुगेको बताइएको छ।