Trending :
 

म्याग्दीको विकट खिवाङगाउँ सडक सञ्जालमा जोडियो

चैत्र २१,२०८०

-आस्था न्यूज

चैत २१, २०८० काठमाडौं ।
म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका-४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ ।
 
धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो ।
 
धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष याम घर्तीमगरले लामो छहरा केङ्कीबाट खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको बताए ।
 
सडक निर्माण भएपछि खिवाङका एक सय ८० घरपरिवार लाभान्वित भएको उनको भनाइ छ । सो सडकमा मोटरसाइकल, जिप र ट्रयाक्टर चल्न थालेका छन् ।
 
६५ मेगावाट क्षमताको म्याग्दीखोला, ५३ मेगावाटको अपर म्याग्दी ९१० र ३७ मेगावाटको अपर म्याग्दीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीको संयुक्त लगानीमा खिवाङलाई सडक सञ्जालले जोडिएको गाउँपालिकाले जनाएको छ ।
 
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले हालसम्म सडक नपुगेको खिवाङ गाउँलाई यातायात सञ्जालमा जोड्न निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरिएको बताए ।
 
अपर म्याग्दी जलविद्युत् आयोजनाका संयोजक सुरेश घलेले सामाजिक सहयोग कार्यक्रमअन्तर्गत विकट गाउँ खिवाङ जोड्ने सडक निर्माण गरेको बताए । गाउँपालिकाको सक्रियतामा खाम्ला हुँदै खिवाङ जोड्ने सडक पनि निर्माणाधीन छ ।
 
जलविद्युत् आयोजनाले नाउरा हुँदै बगरगाउँ जोड्ने सडकको ट्र्याक खोल्ने कामलाई पनि अन्तिम चरणमा पुर्‍याएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।