Trending :
 

बालेनलाई एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा

चैत्र २१,२०८०

-आस्था न्यूज

चैत २१, २०८० काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका महानगरपालिकाकै एक कर्मचारीविरुद्ध साइबर अपराधमा मुद्दा चलाइएको छ ।
 
साइबर अर्थात् विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर हुनेमा ताप्लेजुङको मौवाखोला गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेल छन् ।
 
पौडेलले सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सयौं कर्मचारी नियुक्त गरेको र एक अर्ब खाएको भन्दै लेखेको आरोप छ । झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै मेयर बालेनको तर्फबाट सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।
 
सामाजिक सञ्जालमा लेखेको आरोप लागेका पौडेल विगत २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा रहेर काम गर्दै आएका थिए । सोही क्रममा उनी १६ पुस २०८० मा निलम्बनमा परेका थिए ।