नेपाल ए आयरल्यान्डसँग पराजित

चैत्र २१,२०८०

-आस्था न्यूज

चैत २१, २०८० काठमाडौं ।
कमजोर ब्याटिङसँगै नेपाल ए पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्यान्ड ए सँग २१ रनले पराजित भएको छ । १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमा अल आउट भयो ।
 
नेपालका साहब आलमले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए । देव खनाल २२ बलमा ४ चौकासहित २६ रनमा आउट भए । नेपाललाई ओपनर अर्जुन कुमाल र देव खनालले ५ ओभरमा ३५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
 
छैटौं ओभरको पहिलो बलमा लियाम म्याकार्थीको बलमा सर्ट कभरमा देव केडबाट क्याच आउट भएपछि नेपालले नाटकीय रुपमा विकेट गुमाएको थियो । यसै ओभरको अन्तिम बलमा अर्जुन कुमाल थर्डम्यानमा ९ रनमा क्याच आउट भए ।
 
नेपालको सिनियर टोलीका प्रमुख ब्याटर भीम सार्की शून्यमा एज लागेर अर्को ओभरमा क्याच आउट भए । त्यसै ओभरमा म्याथ्यु हम्फ्रेजले आरिफ शेखलाई शून्यमा विकेटकिपरबाट आउट गरेपछि नेपाल ७ ओभरमा ४१-४ को अवस्थामा पुगेको थयो । विनोद भण्डारी ९, अर्जुन साउद ४ र कमलसिंह ऐरी ६ रनमा आउट भएपछि नेपाल १२.१ ओभरमा ७८-७ को अवस्थामा पुगेको थियो ।
 
बसिर अहमद २१ बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए । साहब आउट भएपछि नेपाललाई जित्नलाई २३ रन चाहिएको थियो । मौशम र रिजन ढकालको रन लिनेक्रममा तालमेल नमिलेपछि मौशम रन आउट भएका थिए । रिजन १२ रनमा नट आउट रहे ।