फ्रेन्डसिप टी ट्वान्टी कपः गुजरातलाई हराउँदै नेपाल फाइनलमा

चैत्र २१,२०८०

-आस्था न्यूज

चैत २१, २०८० काठमाडौं ।
नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी२० कपमा गुजरातलाई ८ रनले हराउँदै फाइनलमा पुगेको छ । १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो ।
 
गुजरातका कप्तान उमागं पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए । अभिषेक देशाई २०, स्मित पटेल १९ र प्रियस पटेलले १७ रन बनाए । हर्ष देशाईले १६ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे ।
 
नेपालका सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिए । विवेक यादवले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । ओपनर आसिफ शेखले ५१ बलमा १० चौका र ५ छक्कासहित सर्वाधिक ८५ रनको इनिङ खेलेका थिए । कुशल भुर्तेल ४४ बलमा ९ चौका र २ छक्कासहित ६७ रनमा आउट भए ।