जनशक्तिको अभावले वीर अस्पतालका ३० आइसियू बेड चार महिनादेखि बन्द
-आस्था न्यूज
चैत २२, २०८० काठमाडौं ।
देशभरका खासगरी विपन्न बिरामीको भिड लाग्ने देशकै जेठो वीर अस्पतालमा गम्भीर बिरामीको उपचार गरिने ३० आइसियू बेड चार महिनादेखि बन्द छन् । कुल ५९ आइसियू बेड रहेकोमा स्वास्थ्य जनशक्तिको अभाव हुँदा आधाभन्दा धेरै बेड बन्द भएका हुन् ।
हाल अस्पतालमा आठ मेडिकल आइसियू बेड छन् । त्यमध्ये दुईवटा थन्क्याएर राख्नुपर्ने बाध्यता छ । त्यस्तै, सर्जिकलतर्फका १८ आइसियू बेडमध्ये १० बेड प्रयोगविहीन छन् । न्युरोतर्फ नौ आइसियू बेड रहेकामा चार प्रयोगविहीन छन् । ग्यास्ट्रोहेपाटो आइसियूतर्फका सबै ११ बेड थन्किएका छन् । अस्पताल प्रशासनका अनुसार कार्डियोलोजीका दुई आइसियू र एक बेड सिसियूमा उपचार हुन सकेको छैन । वीरमा भएका ५९ वटै आइसियू बेडमा आवश्यकताअनुसार भेन्टिलेटर प्रयोग गर्न सकिने सुविधा छ ।
‘वीरमा जम्मा आइसियू बेडसंख्या ५९ हो, तर जनशक्ति अभाव हुँदा ३० वटा बन्द गर्नुपरेको छ । मुख्य त नर्सिङ जनशक्तिको अभावमा आइसियू बेड बन्द गर्नुपर्ने बाध्यता भयो,’ अस्पताल निर्देशक डा. सन्तोष पौडेलले भने, ‘बिरामी बेड नपाएर छटपटाइरहेको अवस्था देख्दा पनि बेड छैन भनेर फर्काउनुपर्दा नराम्रो अनुभूति हुन्छ । भएजति आइसियू बेड सञ्चालन गर्न सके आएका बिरामीलाई फर्काउनुपर्ने अवस्था हुँदैन ।’ निर्देशक डा. पौडेलका अनुसार स्वास्थ्य जनशक्ति अभावमा आइसियूसँगै सबै गरी तीन सय बेड खाली छाड्नुपरेको छ । त्यस्तै, दैनिक ९० जनासम्म बिरामीको अप्रेसन हुने गरेकामा पछिल्लो समय ४० वटा मात्रै अप्रेसन भएको छ ।
जीवन जोगिने भरोसा राखेर गम्भीर अवस्थामा पुगेका कतिपय बिरामीलाई आइसियू बेड नभएको भन्दै सुरक्षागार्डले गेटबाटै फर्काइदिने गरेका छन् भने कतिपय बिरामी इमर्जेन्सीमा छटपटाइरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।