प्रतिवद्धता अनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको प्रधानमन्त्रीको दाबी
-आस्था न्यूज
चैत २२, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवद्धता अनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन्। लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि कानुन संशोधनलाई प्राथमिकता दिएको बताए।
लगानीकर्ताले थाहा पाउने गरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘लगानी सम्मेलनको पूर्वसन्ध्यामा यो बैठक गरिरहेका छौँ। यो बेलामा हाम्रा संयन्त्रहरूले नेपालमा लगानीको अनुकुल अवस्था रहेको सन्देश दिन आवश्यक छ। हाम्रो सेवा प्रवाह स्पष्ट, छिटो-छरितो हुन आवश्यक छ। मन्त्रालयरविभागरकार्यालयहरू परिणाममुखी हुनुपर्यो। सरकारी निकायहरूको काम परिणाममुखी छन् भन्ने विषय लगानीकर्ताले थाहा पाउनुपर्यो।’
बोर्डले परम्परागत र सामान्य उपलब्धि दिनेगरी कार्य गरेर नपुग्ने स्पष्ट पार्दै प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष प्रचण्डले बदलिँदो परिस्थितिमा व्यापक मात्रामा निजी लगानी परिचालन गर्नुपर्नेमा जोड दिए।
‘छोटो समयमा देशको द्रूततर आर्थिक वृद्धि तथा रूपान्तरणकारी पूर्वाधार निर्माण गरेर जनतामा आशाको सञ्चार हुने गरी परिणाम दिनुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बोर्डबाट पास भइसकेपछि निर्णयहरू परिणाममुखी बनाउन सदस्यहरूको स्वामित्व आवश्यक हुन्छ, यसका लागि अतिरिक्त पहलकदमी लिनुहुनेछ।’
देश भित्र सार्वजनिक–निजी साझेदारीको वातावरण विकास गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सबै निकायहरूले पीपीपी परियोजनालाई प्रभाव पार्न सक्ने बोर्डका निर्णयलाई ध्यान दिन निर्देशित गरे।