नयाँ वर्षदेखि ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुल्ला राख्न व्यवसायीहरुको आग्रह
-आस्था न्यूज
चैत २३, २०८० काठमाडौं।
आगामी नयाँ वर्षदेखि ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुल्ला राख्ने तयारी अघि बढाइएको छ ।
पर्यटकीय क्षेत्र दरबारमार्ग र ठमेललाई २४ सैं घण्टा खुल्ला राख्ने तयारीका लागि शुक्रबार गृहमन्त्रालयमा पूर्ण समय व्यवसाय सञ्चालन सम्बन्धी सरोकारवालाहरुसँग ‘समन्वय तथा अन्तक्रिया कार्यक्रम’ गरिएको थियो ।
कार्यक्रममा आगामी १ वैशाखदेखि ठमेल र दरबारमार्गलाई २४ घण्टा खुल्ला गर्न लागिएको जानकारी जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छ ।
२४ सैं घण्टा व्यवसाय सञ्चालनका लागि कार्यविधि समेत बनाएर बस्नेतले प्रस्तुती दिएका थिए । जसमा मदिरा सेवन गरेका सेवाग्राहीहरुले आग्रह गरेमा व्यवसायीहरुले घरसम्म पुर्याइदिनुपर्ने सम्मको विषयहरु उल्लेख गरिएको छ ।
मदिरा सेवनबाट अचेत भएकाहरुलाई व्यवसायीहरुले घरसम्म पुर्याइदिनुपर्ने, ध्वनी प्रदुषणरहित तरिकाले डान्स, डिस्को, दोहारी, क्लबहरु सञ्चालन गर्नुपर्नेसम्म कार्यविधिमा उल्लेख गरिएको छ ।
डान्सबारहरुमा अश्लिल नृत्य प्रदर्शन गर्न नहुने, मौलिकता झल्कने प्रदर्शन हुनुर्ने विषय पनि उल्लेख गरिएको छ । १८ वर्षभन्दा मुनिकालाई क्लबहरुमा पस्न निषेधका साथै मजदुरको रुपमा समेत काम लगाउन नपाइने पनि उल्लेख गरिएको छ ।