नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्ने तयारी, राष्ट्रसंघमा प्रस्ताव लैजाने
-आस्था न्यूज
चैत २३, २०८० काठमाडौं।
नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्ने तयारी गरिरहेको छ । यसअघि भारतको अगुवाइमा अन्तर्राष्ट्रिय योग दिवस घोषणा भइसकेको छ । अन्तर्राष्ट्रिय योग दिवस मनाउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्रसंघले स्वीकृत गरिसकेको छ । जस अनुसार प्रत्येक जुन २१ का दिन योग दिवस मनाउने गरिन्छ ।
अब नेपालले आफ्नो पहलमा अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउने प्रस्ताव संयुक्त राष्ट्रसंघमा पठाउने गृहकार्य थालेको छ । शुक्रबार त्यसैको उपलक्ष्यमा नेपालस्थित चिनियाँ दूतावासले पर्यटन बोर्ड, लुम्बिनी विकास कोषलगायतको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ ।
पहिलो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवको उपलक्ष्यमा चीनले लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान दिवस कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको पहलमा अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउने गृहकार्य भइरहेको जानकारी दिए ।
उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गरेर हुँदैन, संयुक्त राष्ट्रसंघले घोषणा गर्नुपर्छ । त्यसका लागि मैले गृहकार्य थालिसकेको छु ।’ गत कात्तिक १२ गते नेपालमा भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग आफूले प्रस्ताव राखेको परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।
लुम्बिनी भ्रमण गरेर काठमाडौँ फर्केपछि महासचिव गुटेरेससँग भेट हुँदा ‘बुद्धको जन्मथलोबाट आउनु भएको छ, त्यसको महत्त्वको आधारमा अन्तर्राष्ट्रिय ध्यान दिवसका लागि नेपालले प्रस्ताव लैजाने तयारी गरिरहेको छ । यसमा तपाईंको सहयोग चाहिएको’ भनेर आफूले भनेको उनले बताए ।