आज उपनिर्वाचनका उम्मेदवारहरुले मनोनयन दर्ता गर्दै
-आस्था न्यूज
चैत २४, २०८० काठमाडौं ।
इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि शनिबार उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन्। आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ।
मनोनयन दर्तापछि आजै साँझ ६ बजे उम्मेदवारको सूची प्रकाशित गरिने र उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको आयोगले जनाएको छ। भोलि साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ।
निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ।
आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। इलाम–२ र बझाङ प्रदेश १ मा आयोगले उपनिर्वाचन गर्न लागेको हो।
आयोगले उपनिर्वाचन हुने दुवै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तोक्नुका साथै मतदान स्थल समेत तोकिसकेको छ।