मच्छिन्द्रलाई विराट गोल्डकपको उपाधि

चैत्र २५,२०८०

-आस्था न्यूज

चैत २५, २०८० काठमाडौं ।
आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि  मच्छिन्द्र फुटबल क्लबले जितेको छ ।
 
शनिबार राति  विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० गोलले हराउँदै उपाधि जितेको हो ।
 
निर्धारित ९० मिनेटमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयअन्तर्गत खेलको ११३औँ मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङ र ११९ औँ मिनेटमा युसुप थपलियाले गोल गर्दै उपाधि कब्जा गरेका थिए ।
 
उपाधिसँगै विजेता मच्छिन्द्र क्लबले ११ लाख र उपविजेता साङ्ग्रिलाले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
 
प्रतियोगितका प्लेयर अफ द म्याच मच्छिन्द्रका लाकेन लिम्बू, सर्वोत्कृष्ट खेलाडी साङ्ग्रिलाका महेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मछिन्द्रका स्टेफन विनोङले जनही २१ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।
 
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र अखिल नेपाल फुटवल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीले पुरस्कार प्रदान गरेका थिए ।
 
प्रतियोगितामा नेपाल, भारत र भूटानका एक–एक र घरेलु आठसहित १० टोलीको सहभागिता  थियो ।