एक दिवसीय खेलमा नेपाल ए पराजित
-आस्था न्यूज
चैत २५, २०८० काठमाडौं ।
युवा ओपनर अर्जुन कुमालको शतकको बाबजुद नेपाल ए तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आयरल्यान्ड ए सँग ६९ रनले पराजित भएको छ ।
योसँगै तीन खेलको सिरिजमा नेपाल ए ले ‘क्लिनस्विप’को हार व्यहोरेको छ ।
२८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९।४ ओभरमा २१५ रनमा अल आउट भयो । ओपनर अर्जुन कुमालले ११८ बलमा १४ चौकासहित १०२ रनको शतकीय इनिङ खेले । सिनियर क्रिकेट र लिस्ट ए मा उनको पहिलो शतक । यू १९ अन्तर्राष्ट्रियमा भने दुई शतक हानेका छन् ।
अर्का ओपनर अर्जुन साउद ३० बलमा ४ चौका र ३ छक्कासहित ३६ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो गर्न सकेनन् । देव खनाल ११, नरेन भट्ट १५, विनोद भण्डारी ४, भीम सार्की डक र रुपेश सिंह १५ रनमा आउट भए ।
आयरल्यान्डका बेन ह्वाइटले १० ओभरमा १ मेडनसहित ६२ रन खर्चेर ५ विकेट लिए । गेभिन होइले ४ र म्याथ्यु फस्टरले १ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो । आयरल्यान्डको जितमा स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेलेका थिए ।