निर्वाचनसम्बन्धी विधेयक तत्काल संसद्मा पेस गर्ने गृहमन्त्री लामिछानेको भनाई
-आस्था न्यूज
चैत २५, २०८० काठमाडौं ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धी विधेयक तत्काल संसद्मा पेस गर्ने बताएका छन् । आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले राजनीतिक दलसम्बन्धी विधेयक र निर्वाचन आयोगसम्बन्धी विधेयक तत्काल संसद्मा पेस गर्ने बताएका हुन् ।
उपप्रधानमन्त्री लामिछानेले निर्वाचन आयोगले समग्र निर्वाचनमा प्रणालीमा देखिएको विकृति, विसंगतिको समस्या हल हुने र राजनीतिक दलहरू र सिंगै मुलुकको लोकतन्त्र बलियो हुने विश्वास समेत व्यक्त गरे । आफूले आयोगका पदाधिकारीलाई निर्वाचनसँग सम्बन्धित विधेयकहरू संसद्मा पेस गरेर चाँडो भन्दा चाँडो ती विधेयकलाई पारित गर्ने हुटहुटी आफूमा रहेको कुरा पनि आयोग समक्ष राखेको उनले बताए । उनले ती विधेयकहरूमा अन्तिम छलफल गरेपछि तुरुन्तै संसद्मा लैजाने पनि बताए ।
उपप्रधानमन्त्री लामिछानेले भने, ‘आयोगले विशेष गरेर यो निर्वाचनलाई सही ढंगले लिएर जाने हाम्रो अहिले पछिल्लो समय जुन निर्वाचन प्रणाली छ । राजनीतिक रूपमा जुन अलि विचलन जस्तो देखिएको छ । जसका कारणले प्रभाव परेको छ । त्यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरामा अत्यन्तै प्रभावकारी हुने विषयहरू निर्वाचन आयोगले राखेको छ । ती कुराहरू यदि हामीले समावेश गर्नसक्यौँ र जुन विशेष गरेर राजनीतिक दलसम्बन्धी कानुनको कुरा र निर्वाचन आयोग सम्बन्धी कानुन, यिनलाई कानुनमै व्यवस्था गर्न सकियो भने साँच्चै निर्वाचनमा एउटा जुन किसिमको अपेक्षा गरिएको छ । राजनीतिक दलहरूको राजनीतिक चरित्रको विषयमा । र, त्यसबाट निर्देशित भएर समाज कसरी अगाडि बढ्छ भन्ने विषयमा यो अत्यन्तै ठुलो कोशेढुंगो सावित हुन्छ भन्ने कुरामा म एकदम विश्वस्त छु ।’
निर्वाचन व्यवस्थापन सम्बन्धी विधेयक र राजनीतिक दलसम्बन्धी संशोधन विधेयकका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेसँग छलफल गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।