फ्रेन्डसिप कपः गुजरातलाई १८ रनले हराउँदै नेपालले जित्यो उपाधि

चैत्र २५,२०८०

-आस्था न्यूज

चैत २५, २०८० काठमाडौं ।
नेपालले फ्रेन्डसिप कप टी २० प्रतियोगिताको फाइनलमा गुजरातलाई १८ रनले हराउँदै उपाधि जितेको छ ।
 
१७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो । गुजरातका कप्तान उमांग रोहितकुमारले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए ।
 
आर्य देशाई २४ बलमा ४ चौका र २ छक्कासहित ३६, रुद्र पटेल १७, जयमित पटेल र हर्ष देशाईले १५र१५ रन बनाए । नेपालका अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए ।
 
करण केसी र कुशल मल्लले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेलेका थिए ।