सुशासन कायम गर्न र विकास निर्माण गर्न सरकारको ध्यान केन्द्रित भएको छः मन्त्री गिरी

चैत्र २६,२०८०

-आस्था न्यूज

चैत २६, २०८० काठमाडौं ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले अर्थतन्त्र चलायमान बनाउन, सुशासन कायम गर्न र विकास निर्माण गर्न सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । आउँदो नयाँ वर्षदेखि सबै नेपालीलाई देशको अर्थतन्त्र सुदृढ बनाउने काममा खटिन पनि उनले आह्वान गरे ।
 
प्रेस चौतारी नेपालले सोमबार पोखरामा गरेको कार्यक्रममा मन्त्री गिरीले भने, ‘भ्रष्टाचार अन्त्य गर्न खरो रूपमा उत्रनुपर्छ । यो सरकारले सुशासन र समृद्धिमा केन्द्रित हुन्छ । नयाँ वर्षमा सबै नेपाली देशको अर्थतन्त्र बनाउने काममा जुट्नुपर्ने जरूरी छ ।’
 
जनताका निराशा चिर्न नयाँ गठबन्धन बनेको बताउँदै उनले सरकारको मुख्य ध्यान अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माण र सामाजिक सुधारका पक्षमा काम गर्नेमा रहेको बताए ।
 
संविधान कार्यान्वयनका लागि १८२ वटा कानुन बनाउन अझै बाँकी रहेको र त्यसमध्ये ६१ वटा कानुनलाई पहिलो चरणमा बनाउने गरी सरकारले तयारी गरिरहेको उनले जानकारी दिए ।