इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
-आस्था न्यूज
चैत २६, २०८० काठमाडौं ।
विशेष अदालतले नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतले उनलाई नेपाल इञ्जिनियरिङ कलेजको सम्पत्ति गैरकानूनी रुपमा आफ्नो खातामा राख्ने निर्णय गरेकोमा दोषी ठहर गरेको हो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि तीन सातापछिको समय तोकेको छ।
विशेषले २०८१ वैशाख १६ गते सजाय निर्धारण गर्ने छ। विशेष अदालतले सामाजिक संस्थाको सम्पत्ति गैरकानूनी रुपमा व्यक्तिगत खातामा सारेकामा उनलाई दोषी ठहर गरेको हो। विशेषको ठहर अनुसार, उनले १२ करोड ८४ लाख ८७ हजार रुपैयाँ गैरकानूनी रुपमा अपचलन गरेको अभियोग थियो।
उनले विभिन्न बैंकमा आफ्नो नाउँमा खाता खोली कलेजको रकम स्थानान्तरण गरेको भन्दै विशेष अदालतले त्यसरी आम्दानी गरेको आयस्रोतको कर भुक्तानी नगरेको ठहर गरेको छ। आफ्नो हक नपुग्ने संस्थाको सम्पत्ति कुनै अभिलेख नराखी निजी सम्पत्तिको रुपमा परिणत गरेको भन्दै विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो।
विशेष अदालतले यसरी गैरकानूनी रुपमा हिनामिना गरेर लाभ गरेको रकम १२ करोड ८४ लाख रुपैयाँ रहेको फैसलाको रायमा उल्लेख छ। तलब भत्ता, गाडी र अन्य सुविधाका नाममा रकम दुरुपयोग गरेको विशेष अदालतको ठहर छ।