टी-२० विश्वकप २०२४ मा लगाउने नेपालको जर्सी सार्वजनिक
-आस्था न्यूज
चैत २६, २०८० काठमाडौं ।
आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आइसिसी टी-२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज नेपाली टिमले लगाउने जर्सी सार्वजनिक गरेको हो।
निलो र रातो रंग मिश्रित जर्सीमा दुवै काँधमा नेपालको झण्डा छ। यस्तै जर्सीको तल्लो भागमा सगरमाथा अंकित छ। छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो छ।
विश्वकप नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेलहरु नेपालले वेस्ट इन्डिजमा खेल्नेछ। जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।
विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर(८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ।
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी २० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन्।
विश्वकपमा ५५ खेल हुनेछन्। सुरुमा २० टिमलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो। ४ समूहका शीर्ष २-२ टिम गरी कुल ८ टिम सुपर-८ मा पुग्नेछन्। सुपर ८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टिम सेमिफाइनलमा पुग्नेछन्।
समूह एः भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बीः इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सीः न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डीः दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल