गाउँमै विद्यालय भवन र प्रसुतीगृह बनेपछि मुगुका स्थानीय खुसी

चैत्र २७,२०८०

-रासस

चैत २७, २०८० काठमाडौं ।
गाउँमा एकैपटक स्थायी विद्यालय भवन र प्रसूति गृह निर्माण भएपछि मुगुका स्थानीय खुसी भएका छन् । मुगुको उत्तर सोरु नगरपालिका–९ को तली कलाई गाउँमा रहेको मष्टा आधारभूत विद्यालय र कलाई प्रसूति गृहको नयाँ पक्की भवन एकैसाथ निर्माण भएपछि स्थानीय खुसी भएका हुन् ।
 
विद्यालय हस्तान्तरण तथा प्रसूति गृह उद्घाटन कार्यक्रममा स्थानीयले बजागाजा, माला, अबिरलगायतले पाहुनालाई स्वागत गरेका थिए ।
 
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सम्बन्धित संस्थाका अध्यक्ष, अन्य सदस्य, कर्मचारी, विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
 
विद्यालयमा भवनसँगै महिला तथा पुरुषका लागि शौचालय, बालबालिकाका लागि डेस्क, बेन्च, सेतो टेबल र आवश्यक शैक्षिक सामग्रीको व्यवस्था गरिएको छ ।
 
गाउँमा स्थायी विद्यालय भवन बनेपछि आधारभूत विद्यालयका प्रधानाध्यापक भानुभक्त चौलागाइँले खुला चौरमा राखेर विद्यार्थी पढाउनु पर्ने अवस्थाको अन्त्य भएको भन्दै खुसी व्यक्त गरे ।
 
जर्मनीको आर्थिक तथा प्राविधिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्रको समन्वयमा ६२ लाख ८४ हजार २७५ रुपैयाँको लागतमा चार तले स्थायी भवन निर्माण भएको हो ।
 
यस्तै ५३ लाख १० हजारको लागतमा दुई तले ४ कोठाको स्थायी प्रसूति गृह निर्माण भएको  छ । मष्टा विद्यालयमा ८७ घरधुरीका ८९ बालबालिका अध्ययनरत छन् ।