सुन प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार

चैत्र २७,२०८०

-आस्था न्यूज

चैत २७, २०८० काठमाडौं ।
नेपाली बजारमा पछिल्लो पटक सुनको मूल्य आकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो । 
 
चैत २० गते प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । 
 
पछिल्लो समय विश्व अर्थतन्त्रमा परेको आर्थिक शिथिलताको प्रभाव बैंकको ब्याजदर घट्दो क्रममा रहनु, पेट्रोलियम पदार्थको मूल्य बढ्नु र शक्ति राष्ट्रहरुबिचको तनावपूर्ण स्थितिका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका हुन् । जसले सुनको डिमान्ड बढाउँदा मूल्य पनि बढ्न गएको हो । 
 
त्यसो त अन्तर्राष्ट्रिय बजारमा २०७९ फागुन मसान्तमा प्रति आउन्स सुनको मूल्य १ हजार ९०७.५५ अमेरिकी डलर रहेकोमा २०८० फागुन मसान्तमा १३.७ प्रतिशतले बढेर २ हजार १६८.४० अमेरिकी डलर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
 
यसले  अन्तर्राष्ट्रिय बजारमा सुनको माग ह्वात्तै बढेको सहजै अनुमान लगाउन सकिन्छ । तर, यो अवधिमा नेपाली बजारमा भने  सुनको माग बढ्नुको साटो उल्टो घटेको तथ्यांकले देखाउँछ । 
 
नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म १७ अर्ब ५७ करोड ८० लाख ३० हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५१ प्रतिशतले कमी हो । 
 
अघिल्लो आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मा यसको दोब्बर अर्थात् ३५ अर्ब ८६ करोड १० लाख ५० हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको थियो ।