लगानी सम्मेलन सफल बनाउन नेपालस्थित विदेशी कूटनीतिज्ञसँग प्रधानमन्त्रीको आग्रह

चैत्र २७,२०८०

-आस्था न्यूज

चैत २७, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित विदेशी राजदूतावास, कूटनीतिक नियोग र विकास साझेदारहरूसँग आग्रह गरेका छन् । 
 
सिंहदरबारमा आयोजित कुटनीतिज्ञ एवम् विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताए ।
 
‘लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका कूटनीतिक नियोगहरूबाट सहयोगको अपेक्षा गर्दर्छौं,’ प्रधानमन्त्री प्रचण्डले भने ।
 
सङ्घीय सरकारका मन्त्रालयहरूसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनाहरूलाई समान प्राथमिकतामा राखिएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले सरकार लगानीमैत्री वातावरण बनाउन कानून परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्ताहरूलाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।