नयाँ वर्षमा लेखनाथ हाफ म्याराथन हुने

चैत्र २८,२०८०

-आस्था न्यूज

चैत २८, २०८० काठमाडौं ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी वैशाख १ गते लेखनाथ हाफ म्याराथन हुने भएको छ ।
 
कास्की जिल्ला एथ्लेटिक्स सङ्घको प्राविधिक सहयोगमा दोस्रो संस्करणको उक्त म्याराथन आयोजना हुने आज तालचोकमा आयोजित पत्रकार सम्मेलनमा समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
 
उनका अनुसार प्रतियोगिताअन्तर्गत पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटरको महिलारपुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ पाँच किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ पाँच किलोमिटर दौड हुनेछ ।
 
चार वटा विधामा गरेर करिब एक हजार धावक सहभागी हुने अनुमान गरिएको खड्काले बताए । प्रतियोगितामा हाफ म्यराथनको विजेताले रु ६० हजार पाउने आयोजकले जनाएको छ । द्वितीय, तृतीय, सान्त्वना र पाँचौँले क्रमशः रु ३० हजार, रु २० हजार, रु १० हजार र रु पाँच हजारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
 
दश किमीको महिलारपुरुष राष्ट्रिय खुला दौडको विजेताले रु ३० हजार र उपविजेताले रु २० हजार पाउने छन् । तृतीय, सान्त्वना र पाँचौँ हुनेले क्रमशः रु १० हजार, रु पाँच हजार र रु दुई हजार पाँच सयका साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने सचिव खड्काले जानकारी दिए ।