Trending :
 

बागमती नगरपालिकाका मेयर कुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा, ५ करोडको स्रोत खुलेन

चैत्र २८,२०८०

-आस्था न्यूज

चैत २८, २०८० काठमाडौं ।
सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 
 
अनुसन्धानको जाँच अवधिमा थापाको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा घररजग्गा खरिद, विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूबाट उपभोग गरेको कर्जारऋणको साँवा व्याज तिरेको रकम, जीवन बीमा प्रिमियम भुक्तानीमा भएको खर्च, विभिन्न कम्पनीहरूमा लगानी भएको खर्च, अध्ययन खर्च, शेयर खरिद खर्च, सवारी साधन खरिदमा भएको खर्च, सेवा दस्तुर बापत तिरेको रकम र बैंक मौज्दात रकमसमेत गरी १३ करोड २० लाख तीन हजार तीन सय ९१ रुपैयाँ ८४ पैसा खर्च तथा लगानी भएको देखिन्छ । त्यसमध्ये मध्ये पाँच करोड ३३ लाख ५३ हजार एक सय ८९ रुपैयाँ ६६ पैसाको स्रोत नखुलेको आयोगको अनुसन्धानबाट खुलेको छ ।
 
आयोगका अनुसार थापाको वैध आय सात करोड ८६ लाख ५० हजार दुई सय एक रुपैयाँ ४८ पैसा देखिन्छ । यसरी कुल वैधानिक आयलाई थापाले गरेको कुल व्ययसँग तुलना गर्दा उनको आयस्रोत र आर्जन गरेको सम्पत्तिबिच तादात्म्य नदेखिएको र सम्पत्ति ऋणात्मक देखिएको आयोगको अनुसन्धानबाट खुलेको छ । सार्वजनिक पद धारण गरेका मेयर थापाले सार्वजनिक पदको दुरुपयोग गरी पाँच करोड ३३ लाख ५३ हजार एक सय ८९ रुपैयाँ ६६ पैसाका गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।